१४ वर्षीया बालिकामाथि बाेक्सीकाे आराेप लगाउने धामीसहित तीनजना पक्राउ

धनगढी । कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि बोक्सी लागेको भन्दै ५५ वर्षीय महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा धामीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धामीझाक्रीको काम गर्दै आएका माता भनिने ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र बालिकाको ३० वर्षीया आमा रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।

डीएसपीका अनुसार कात्तिक २२ गते बिहीबार राति बालिकाको आमाले छोरी बिरामी भएपछि झारझुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगेकी थिइन्। त्यही बेला उनीसँगै सुनिलको घरमा पुगेकी बालिकाको ठूलो आमामाथि बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार देखाउँदै चक्कुले कपाल काटिदिएका थिए भने घाँटी न्याक्ने जस्ता व्यवहार गरेका थिए।

उनले आफूमाथि बोक्सीको आरोपमा झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी इलाका प्रहरी कार्यालय टीकापुरमा दिएकी छिन्। उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.