आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो ।
जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए ।
जसदीप सिंहको बलमा उनी बोल्ड भए । दोस्रो विकेटका लागि अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।
यस्तै सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।