काठमाडौ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भएपनि आज शुक्रबार तिहारको कुनै पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको र औँसीसहित कात्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा भाेलि शनिबार परेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको भन्दै उनले यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको बताए ।
कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ ।
यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ । यो पर्व कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ ।