साफ च्याम्पियन्सिपको फाईनल प्रवेशका लागि नेपाल-भारत भिड्दै

धनगढी । साफ महिला च्याम्पियनसिपको फाईनल पुग्न सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको आज सामना गर्दैछ । यो खेल साढे ६ बजे सुरु हुनेछ ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो । पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ ।

साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई भारतविरुद्धको खेल हार्ने छुट छैन । पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ । यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ । यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ । नेपाल हजारौँ घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ । पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.