भ्रष्टाचारीलाई बचाउन बनेको सरकार आफै पुष्टि गर्दैछ : प्रचण्ड

जुम्ला । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ‘हनिमुन पिरियड’ पुरा गरेपछि विरोधका कार्यक्रमहरु शुरु गर्ने बताएका छन् । प्रेस सेन्टर जुम्लाले आज (सोमबार)  सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले सरकारले गर्ने काम नगरेको आरोप लगाए ।

उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप पुष्टि गरेको जिकिर गरे। ‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईहरुले सबै देखिरहनु भएको छ’, अध्यक्ष प्रचण्डले भने,  ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमीन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरको छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको १०० दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरु गर्ने बताए । उनले भने,  ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने १०० दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं । आज मात्रै हामी बिपक्ष दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र १० दिन पुगेपछि विरोधका कार्यक्रम शुरु हुन्छन् ।’

खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीमा आयोजित पत्रकार भेटमा अध्यक्ष अध्यक्ष प्रचण्डले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने बताए । उनले आफू पछिल्लो पटक प्रधानमन्त्री भएको बेलामा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषद्बाट पारित गरी संसदबाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने उल्लेख गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.