दुई दिन पनि टिकेन बोहरा दम्पतीको खुसी

धनगढी । नेपालमा सडक मार्गको यात्रा गर्ने यात्रुलाई कुनै युद्ध  लड्न गएको सिपाही सँगै तुलना गर्दा अनुक्ति नहोला । किनकि यात्रा गर्दा कुन बेला कहाँ जीवन गुमाउनुपर्ने हो टुङ्गो हुँदैन । खुसी कहाँ चुँडिने हो पत्तो हुँदैन । यही नियतिको सिकार बनेका छन् मंगलबार मध्य राती डडेल्धुरामा बस दुर्घटनामा ज्यान गुमाएका बोहरा दम्पती ।

परिवारमा नव आगन्तुक सन्तानलाई काखी च्यापेर घर फर्किँदै गरेका बेला उनीहरुको खुसी चुँडियो, परिवार एकै चिहान भयो । पहिलो सन्तानको जन्म दिन बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँबाट श्रीमान् सहदेव बोहरा सँगै धनगढी आएकी कमला बोहराले सोमबार मात्रै शिशुलाई जन्म दिएकी थिइन् ।

शिशुलाई सुरक्षित जन्म दिन उनीहरू धनगढी आएका थिए । पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएर घर फर्किरहेका बोहरा दम्पतीले शिशु मात्रै गुमाएनन् आफूले पनि अनायासै ज्यान गुमाउन पुगे । बोहरा दम्पतीको खुसी २ दिनमै उजाडियो । दुर्घटनामा छोरीको स्याहार गर्न आएकी ४५ वर्षीय जैमती बोहराले पनि ज्यान गुमाएको पुर्चौंडी नगरपालिका–३ का वडाध्यक्ष खगेन्द्र बहादुर बोहराले बताए ।

उनले दुर्घटना पछि तोली गाउँ शोकमा डुबेको बताए । महेन्द्रनगरबाट बैतडीको हाटपचौडीका लागि छुटेको बस अमरगढी नगरपालिका– ७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका ४ जना सहित ५ जनाले ज्यान गुमाएका छन् ।

पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेर पुर्चौंडी नगरपालिका–१० की ६२ वर्षीय गोवणी महरा पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.