काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
असोज १ गतेको तुलनामा आजको मूल्यसूचीअनुसार छापावाला सुन तोलामा २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय २० रुपैयाँ निर्धारण भएको छ ।