
धनगढी । सुदूरपश्चिममा अपाङ्गता भएका ब्यक्तिहरुले प्रदेश सरकार तथा सांसदहरुको ध्यानाकर्षण गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको अगुवाईमा उनीहरुले सम्झौता गर्ने कार्यान्वयन नगर्ने प्रदेश सरकारको प्रबृतिको भण्डाफोर गर्न गत वर्षकोझैं आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख, विषयगत मन्त्रालय सामाजिक विकासमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दल र सांसदलाई भेटेर अपाङ्गता भएका नागरिकको मागमा सम्झौता गर्ने तर, कार्यान्वयन नगर्ने बारे ध्यानाकर्षण गरेका हुन् । उनीहरुले आफ्ना माग सम्बाेधन नभए सडक आन्दाेलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।
गत वर्ष मुख्यमन्त्री कमल बहादुर शाहको प्रतिनिधित्वमा सामाजिक विकासमन्त्रीसँग भएका सम्झौता अनुसार चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम नआएको, अपाङ्गता क्षेत्रको बजेट कार्यान्वयन गर्दा उनीहरुसँग समन्वय नगर्ने गरेको, अपाङ्गता सहायक सामाग्री उत्पादन तथा आवश्यकता अनुसार वितरण गर्नेमा बजेट नबाेलेको, प्रदेश समितिको भवन र सुप समावेशी विधालयमा छात्राबास भवन छुटेकोमा ध्यानाकर्षण गरेकाे छ।
यस्तै, अपाङ्गता प्रदेश नीति यथासिघ्र पास गरी लागु हुनुपर्ने,प्रादेशिक निर्देशन समितिमा कार्यकारी उपाध्यक्षसहित सदस्यमा सबै प्रकारका अपाङ्गतालाई समावेश गर्नुपर्ने लगायतका १० बुदे माग गरेको छ ।
हेर्नुस् मागहरु


