काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरेका हुन्।
प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् । साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।