धनगढी। सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ। आज (शनिबार) कैलालीको धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने बताएका हुन्।
गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको मुख्यमन्त्री शाहले बताए। उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ। यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ।
प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने उनको दाबी छ।