Dashain Suvakamana

सुदूरपश्चिम पहाडका सबै सडक अवरुद्ध, जनजीवन अस्तव्यस्त

Ajai

धनगढी । तीन दिनदेखिकाे लगातार वर्षाका कारण सुदूरपश्चिमका तराईबाट पहाड जाने भीमदत्त राजमार्गसहित ८ वटा सडक अवरुद्ध भएका छन्। भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि भीमदत्त राजमार्गसहित सबैजसाे साना ठूला सडक अवरुद्ध हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ। अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ। गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ। साहुखर्कमा बिहीवार साँझदेखि नै पहिरो खसिरहेको थियो।

डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए। तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन्। यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा पहिरो खस्दा डाेटी अछाम बाजुरा जाने केआईसिंह राजमार्ग अवरुद्ध भएको छभने आलितालमा खसेको पहिरोले जोगबुढा-बुडर सडक पनि बन्द भएको छ।

उता बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। हिजो तमैल बजारनजिकै जालेबगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। यता कैलालीको खुटिया नदिले जल सतर्कता तह पार गरेको छ। मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोली (शनिवार) बिहान ९ बजेसम्म सचेत रहन विभागले आग्रह गरेको छ। धनजनकाे ठूलाे क्षति नभएपनि तीन दिनदेखिकाे अविरल बर्षाले यहाँकाे जनजीवन कष्टकर बन्दै गएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.