
धनगढी । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन्। भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, सेलपुरी र गुँदपाकजस्ता परिकारका साथै फलफूल खाने चलन छ।
दरमा के खाने के नखाने ?
तिजको दर जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले उत्ति नै स्वास्थ्यकर हुने वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठी बताउन्छन । प्राचीन कालदेखि दूधबाट बनेको परिकार जस्तै खिर, चाम्रे, ढकनी, पुरी, आलुको अचार र घरमानै बनाएर दरका रूपमा खाने प्रचलन छ । यस्ता खानेकुरामा प्रोटिन, काब्रोहाइड्रेड, क्यालोरी प्रशस्त मात्रमा हुने हुँदा दिनभर व्रत बस्न शरीरमा शक्ति प्रदान गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
उनले भने, “परिकार अनुसार त्यसबाट पाउने पोषण तत्त्व पनि फरक फरक हुने गर्छ । तिजमा पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक पर्ने भएकाले विभिन्न परिकारको मिश्रित दर खाने चलन चलिआएको हुन सक्छ ।”
पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने रमाइलो गरेर तिज मनाउने प्रचलन बढ्दै गएको छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउनु दुखद भएको डा. ठकुराठीको ठहर छ ।
उनी भन्छिन, “लामो समयसम्म अत्यधिक गुलियो, चिल्लो, धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिने गर्छ ।” डा. ठकुराठीका अनुसार लामो समय यस्ता खानेकुरा खानाले पेटमा समस्या हुने, आन्द्रा र पाचन क्रियालाई भार पर्ने गर्छ ।
धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा सेरोटिन भन्ने हर्मोन निकाल्ने हुँदा निद्रा लाग्ने, थकाई लाग्ने, अल्छी लाग्ने जस्ता तत्कालीन समस्या निम्तिनुका साथै दीर्घकालीन स्वास्थ्य समस्या निम्तने उनको भनाइ छ ।
