धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी आउदै छन् । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन प्रचण्डसहितकाे पदाधिकारी टाेली आज धनगढी आउन लागेका हुन्।
प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू धनगढी आउन लागेकाे प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने छन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारे नेताहरूको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बताए । पार्टी निर्माणका लागि नेताहरूको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरू तय गरेको छ ।
सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि बैठकमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् । माओवादीले यसअघि बाग्मती र गण्डकीमा परामर्श बैठक सम्पन्न गरिसकेको छ ।