ड्युटीमा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

अछाम । ड्युटीमा बेहोस भएका प्रहरी सहायक हवल्दार टंकबहादुर बोहराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत मंगलसेन– ८ ओलीगाउँका बोहरा शनिबार दिउँसो नागरिक सहायता कक्षामा ड्युटी गरिरहेका बेला बेहोस भएका थिए।

एक्कासि बेहोस भएर भुइँमा लडेपछि उनलाई तत्काल जिल्ला अस्पताल मंगलसेन लगेर इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो। अस्पताल पुर्‍याएलगत्तै ३६ वर्षीय बोहरालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बोहराको मृत्युको कारण भने भिसेराको रिपोर्ट आएपछि मात्र थाहा हुनेछ। त्यसका लागि पोस्टमार्टम गरी भिसेरा संकलन गरेर परीक्षणका लागि पठाइएको छ। जिल्ला प्रहरी कार्यालय बझाङको अपराध अनुसन्धान समूहमा दरबन्दी रहेका बोहरा जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.