
अत्तरिया । कैलालीको गोदावरीका स्थानीय बासिन्दा आफ्नो रितीरिवाज परम्परा तथा संस्कृति र संस्कारको जगेर्नामा जुटेका छन् । यसैक्रममा सुदूरपश्चिमलाई विश्वसँग जोडिरहेको यहाँको मौलिक गौरा पर्वको अवसरमा यही भदौ १० गतेदेखि १६ गतेसम्म बृहत गौरा मेला तथा देउडा प्रतियोगिताको आयोजना गरिन लागेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
सबैको पायक पर्ने स्थान गोदावरी नगरपालिका–८ स्याउलेमा यस वर्ष गौरा पर्व मेला आयोजना गर्न लागिएको मेला सञ्चालन समितिका संयोजक गोपाल देउवाले बताए। यहाँको रितीरिवाज, संस्कृति र संस्कारको जर्गेना गर्ने हेतुले मेलाको आयोजना गर्न लागिएको उनको भनाई थियो ।
मेलामा स्थानीय देउडा कलाकारहरुका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका १५ टीमका कलाकारहरुको सहभागिता रहने छ । मेलालाई मर्यादित र व्यबस्थित बनाउन मुल आयोजक समिति र आवश्यकताअनुसार अन्य उपसमिति बनाइएको र मेला आयोजना गर्नकालागि तीन लाख रुपियाँ लगानी लाग्ने देखिएको बताए । उनले उक्त रकम समितिले चन्दा उठाएर संकलन गरिरहेको जानकारी दिए ।
मेलामा यस वर्ष स्थानीय विद्यालयका विद्यार्थीहरुलाई पनि सहभागिता गराईने बताईएको छ । यहाँको संस्कार, संस्कृति र परम्पराको पहिचान हुने किसिमका कार्यक्रमहरु देखाएर विद्यार्थीलाई व्यबहारतः सिक्ने र सिकाउने अवसरले सास्कृतिक पुस्तान्तरण हुने आयोजकको विश्वास छ ।
