कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत : भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् ।

‘नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलहरूले निश्चित दर्शन, कार्यक्रम र नीतिको आधारमा आफूलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ र यो प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । यो बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा विपरीत सिद्धान्त भएका दुई ठुला राजनीतिक दलहरू एक ठाउँमा आइसकेपछि उनीहरूले के गर्छन् ? भन्ने कुरा साह्रै महत्त्वपूर्ण हुन्छ ।

यो सामान्य राजनीतिक प्रक्रियामा राजनीतिक दलहरूले जनताको बिचमा गएर आफ्ना कार्यक्रम, नीति र सिद्धान्त अगाडि सार्ने र जनताको मत माग्ने । जसले बहुमत ल्याउँछ उसले सरकार बनाउँछ । कसैले बहुमत ल्याएन भने त्यस्तो अवस्थामा विचार मिल्ने दलहरू मिलेर सरकार गठन गर्छन् । यो सामान्य नेपालको संविधानमा परिकल्पना गरिएको कुरा हो,’– उनले भने ।

विपरीत सिद्धान्त भएका दुई ठुला दलहरूले सरकार बनाएकाले यी दलले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षेत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन् कि गर्दैनन् भन्ने कुरा परीक्षाको रूपमा रहेको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.