बैतडी । पाटन नगरपालिकाले मुख्य सडक अनारखोलीमा ढाट राखेर हरियो धनियाँ बेच्दा दुई रुपियाँ प्रतिकिलो निकासी कर लिन सुरु गरेको छ । पालिकाबाहिर बिक्री हुने धनियाँ, लसुन, प्याजलगायत आलु निकासी कर लिन थालेपछि किसान मर्कामा परेका छन् । नगरपालिकाले मसलाजन्य तरकारीमा दुई रुपियाँ र सबै प्रकारका तरकारी रायो, बन्दा, आलु र काउलीमा प्रतिकिलो एक रुपियाँ कर लिन थालेको हो ।
नगरपालिकाले तरकारीमा कर लिन सुरु गरेपछि प्रतिकिलो ४० रुपियाँमा बिक्री हुँदै आएको बन्दाको ३५ रुपियाँमा झरेको पाटन नगरपालिका–९ का अगुवा किसान मोहन बिजलेले बताए । उनले भने- “नगरपालिकाले तरकारीमा कर लिन सुरु गरेपछि थोकमा तरकारी किन्दै आएका बिचौलियाले मूल्य घटाउँदा किसान मर्कामा परेका छन् ।
शीतभण्डार नहुँदा किसानले उत्पादन गरेको तरकारी बारीमा सड्ने अवस्था आएको छ । सरकारले बनाउने भनेका तीन वटा शीतभण्डार सात वर्षदेखि अलपत्र छन् । डडेलधुरा–बैतडी जोड्ने अनारखोलीमा ढाट राखेर लसुन, धनियाँ र सबै खालका तरकारीलगायत खसी, बोका, राँगा–भैँसी, गोरु र वन पैदावारमा कर लिन सुरु गरेको पालिकाले जनाएको छ ।