कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाउन थालेको छ । सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो ।
सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको तर, नमानेपछि अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज बिष्टले जानकारी दिए। “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।”
सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ । संभावित संक्रामक रोगहरु फैलिन सक्ने उच्च संभावना बढेर गएपछि नगरपालिको अबैध संरचना हटाउन थालेकाे हाे । दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो । पानीको निकास हुने ठाउमा पक्कि भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन ।
यस अघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वनसमिति लगायत बजारका अबैध सडक क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाएको थियो ।