Dashain Suvakamana

थारु समुदाय आज गुरही पर्व मनाउँदै

Ajai

धनगढी । बालबालिकाकाे पर्वको रूपमा लिइने गुरही पर्व थारु समुदायमा आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।

गुरही पर्वमा कपडाको गुरही (गाइने किरा) बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख सेलाउने चलन छ । जसलाई थारु भाषामा गुरही असरैना भनिन्छ । यो पर्वमा बालिका वा किशोरीहरूले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै लट्ठी वा सोंताले ठटाउने, पिट्ने चलन रहेको छ ।

गुरहीसँग ल्याइएको भुजा तथा गेडागुडी बाँडेर खाने चलन छ । गुरहीलाई ठटाएर गाउँघरबाट रोगव्याधि धपाउने गरेको मान्यता रहिआएको छ । गुरही पर्वमा गुरही असरैना कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधि नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारु अगुवा ठाकुर करिया प्रधानले बताए ।

खेतीपातीको कामपछि थारु समुदायको यो पहिलो पर्व रहेकोले आज धनगढीको गुरही चौकमा नाचगानसहित सामूहिक रूपमा गुरही असरैना कार्यक्रम गर्ने तयारी गरिएको छ । सखी सञ्जालसहित थारु सम्बद्ध विभिन्न सङ्घसंस्थाको आयोजनामा गुरही असरैना कार्यक्रम गर्ने जनाइएको छ ।

थारु समुदायको गुरही, कठरिया थारु समुदायको पचइया पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानीय तहले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.