बाँके । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । नदीमा पुल नहुँदा बाँकेको पूर्वी क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा जाेखिम माेल्दै नदी तर्ने गर्दछन् ।
राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताए । उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।
डुङ्गामा नदी तारेको प्रतिव्यक्ति रु १० तिर्नु पर्दछ । गाईभैँसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ६० लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताए । डुङ्गामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासीले बताए ।
राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि अहिलेसम्म कुनै सरकारले नहेरेकाे स्थानीयकाे गुनासाे छ ।