धनगढी। कञ्चनपुरकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हिजो एक युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो ।
बाघले दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहलाई हिजो मारेर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो । बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । उनले बाघ एकदम बेहोस अवस्थामा रहेको र त्यसलाई मजगाउँस्थित निकुञ्जको हेडक्वार्टरमा पुर्याएर चिकित्सकको टिमले चेकजाँच गर्ने बताए ।
बाघलाई हिजो दिनभरि नियन्त्रणमा लिने प्रयास भएपनि सफल हुन सकेकाे थिएन् । हिजो दिनभरि प्रयास गर्दा पनि असफल भएपछि हात्तीसहितको प्राविधिक टोली रातभरि बाघको रेकी गर्दै सोही स्थानमा बसेको थियो । घेरा हालेको ठाउँबाट बाघलाई अन्यत्र जान नदिनको लागि लाइट बालिएको थियो ।
यस्तै, भोकले उखुबारीबाट बाघ नभागोस् भनेर एउटा पाडो बाँधेर राखेकोमा त्यसलाई खाएको जनाइएको छ । बाघले मान्छे मारेपछि दोधारा चाँदनी नगर त्रसित बनेको थियो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए ।