
धनगढी । नेत्रहीन युवा संघ नेपाल नेत्रहीन युवाकाे लागि मात्रै नभएर सबैखाले अपाङ्गता भएका नागरिककाे हकअधिकार सुनिश्चितता र पहुँचमा काम गरिरहेकाे बताइएकाे छ । बुधवार धनगढीमा पत्रकारसँगकाे छलफलमा नेत्रहीन युवा संघ नेपालका महासचिव अर्जुन रावलले यस्ताे बताएका हुन् ।
संस्थाकाे नाम र नेतृत्व नेत्रहिन युवाले गरेपनि काम भने समग्र अपाङ्गता क्षेत्रकाे गरिरहेकाे उनले बताए । नेत्रहिन युवा संघले अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा विगत २०६८ सालदेखि काम गर्दै आइरहेको र हाल देशभर १० शाखा रहेको तथा संस्थामा हालसम्म आठ सयभन्दा बढी अपाङ्गता भएका युवाहरु आवद्ध भएकाे जनकारी दिए ।
संघले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिकासाथै सबै किसिमका अपाङ्गता नागरिककाे शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता एवम् प्रतिनिधित्व, पहुँचयुक्त निर्वाचन प्रणाली, क्षमता विकास, संविधानप्रदत्त हकअधिकारको कार्यन्वयन, जलवायु तथा प्राकृतिक प्रकोप र प्रदेश तथा स्थानीय तहमा बन्ने अपाङ्गता नीति, कानुन, बोली-व्यवहार लगायतका विभिन्न क्षेत्रमा केन्द्रित रही निरन्तर काम गरिरहेको छ ।
राज्य तथा सार्बजनिक निकायका हरेक क्षेत्रमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिदैं नेत्रहिन युवा संघ नेपालका संघीय महासचिव रावलले अपाङ्गता भएका व्यक्तिको राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकार सम्बन्धि सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिए। उनले राजनीतिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता नभएकाले अपाङ्गता भएका व्यक्तिका सवाल उठ्न नसकेको बताए ।
उनले समावेशी एवं अर्थपूर्ण सहभागिताको माध्यमबाट अपाङ्गता समुदायका व्यक्तिहरुले निर्णय प्रकृयामा बस्न पाउने कुराको सुनिश्चिता हुनु पर्नेमा जोड दिए । सरकारी कार्यालयहरुमा डिजिटल वडापत्र राख्नुपर्ने र निर्वाचन प्रणाली अपाङ्गमैत्री हुनुपर्ने उनले बताए । ‘संविधान अनुसार निर्वाचनमा उम्मेदवारसम्म बन्ने व्यवस्था भयो । समानुपातिकतर्फबाट छनोट हुँदा छनोट नहुने अवस्था छ । यसका लागि निर्वाचन प्रणाली सुधार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
निर्वाचन प्रणाली पनि अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त हुनु पर्ने भन्दै उनले हरेक क्षेत्रका भौतिक संरचना पनि अपाङ्गमैत्री हुनुपर्ने बताए । यस्तै बनेका नीति नियमहरुलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने उनकाे जाेड थियाे। अपाङ्गता भएका व्यक्तिहरुलाई भोट बैङक मात्रै बनाउने गरेको उनको गुनासो छ । प्रदेश सरकारले तत्काल अपाङ्गता नीति ल्याउनुपर्ने उनकाे भनाई थियाे ।
