
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे ।
२२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने उनको भनाई छ । ‘यसको पुष्टि गर्दै छौँ,’ उनले भने । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।
