धनगढी। भू–दासका रूपमा जमिनदार वा मालिकका घरमा काम गर्न बाध्य भएका कमैयालाई सरकारले मुक्त धाेषणा गरेकाे २४ बर्ष पुरा भईसक्दा पनि दुई हजार ३७५ मुक्त कमैयाको पुनर्स्थापन हुन सकेको छैन । पुनर्स्थापनाबाट वञ्चित मुक्त कमैया कठिन जीवन जिउन बाध्य हुँदा तीन तहकै सरकारसँग पुनर्स्थापना तथा जीविकोपार्जन समस्या समाधान गर्न माग गरेका छन् ।
सरकारले मुक्त गरे पनि सबैको पुनर्स्थापना र उचित रोजगारीको व्यवस्था हुन सकेको छैन । जसले गर्दा घरजग्गा र लालपु्र्जा पाएका मुक्त कमैयाले नै आफूहरूलाई हेला गर्ने गरेको कैलारी गाउँपालिका–३, ओमनगर मुक्त कमैया बस्तीकी कमला कुमालले बताए । ओमनगर बस्तीमा ७५ घरधुरी छन् । जसमध्ये ३८ परिवारसँग परिचयपत्र छ । बाँकी ३७ परिवारसँग परिचयपत्र छैन ।
पुनर्स्थापना हुन बाँकी रहेका मुक्त कमैया ऐलानी, पर्ती र सरकारी जग्गामा अव्यवस्थित रूपमा बसिरहेका छन् । अव्यवस्थित रूपमा बस्दै आएका उनीहरुलाई विभिन्न जालझेल गरेर उठाउने प्रयास भइरहेको गुनासाे छ । कतै विधालयकाे त कतै मन्दिरकाे जग्गा हाे भन्दै हटाउने गरेकाे धनगढी उपमहानगरपालिका–८, राधाकृष्ण बस्तीकी बजारी चौधरीले बताइन् ।
सरकारले जारी गरेको मुक्त कमैया, कमलरी तथा हलिया, हरवाचरवा पुनर्स्थापनाका लागि तयार गरेको कार्यविधि २०७९ मन्त्रीपरिषद्बारा पारित गरी कार्यान्वयन गर्न उनीहरुकाे माग छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा मुक्त कमैयाहरू रहेका छन् ।