काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवास स्रोतले जानकारी दिएको छ ।
हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएकोिले राष्ट्रपति रामचन्द्र पौडेल ओलीलाई नियुक्त गर्न लागेका हुन्। राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएकाले प्रधानमन्त्रीको नियुक्ति दाबी पेस गर्न दिइएको समय सीमा सकिएपछि हुने र नियुक्तिपछि शपथ तय हुने शीतल निवास स्रोतकाे भनाई छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।
गत असार १७ गते मध्य राति कांग्रेस–एमालेबीच भएको समझदारीले दुई दललाई एक ठाउँमा ल्याएको छ । तर, सहमति अझै गुपचुप राखिएको छ । ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि २०७२ साल असोज २५, २०७४ फागुन ३ र २०७८ सालमा प्रधानमन्त्री बनेका थिए ।