
धनगढी । बारीकाे आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगतै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ।
आरोपी दुवैजना मिलेर ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।
डीएसपी गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा दशईले पछाडिबाट अनुहार टाउकोमा रड प्रहार गरेको र उनी भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।
