धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काङ्ग्रेस र एमालेले माग गरेका छन्। आइतवार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै काङ्ग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो।
केन्द्रमा भएको राजनीतिक समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिइएको छ। तर, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा नदिने बताएका छन्।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन्। उनले यसबारे साउनमा विश्वासको मत लिने सत्तारुढ दलका नेताहरुलाई जानकारी गराएका छन्।
नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको साथ चाहिन्छ। तर एमालेले समर्थन फिर्ता लिएकाले साेडारीको बहुमत पुगाउने अवस्था देखिदैन।