सुदूरपश्चिमकाे बजेट बनाउने अर्थमन्त्री नै अध्यादेशबाट अर्काे ल्याउने तयारीमा

धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट बनाएर असार १ गते प्रदेश सभामा पेस गरेका तत्कालिन अर्थमन्त्री सुरेन्द्रबहादुर पाल नै बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारका एमालेबाट आर्थिक मामिला मन्त्री रहेका पाल राजनीतिमा आएकाे परिवर्तनसँगै आफैले ल्याएकाे बजेटकाे विपक्षमा उभिने भएका हुन् ।

आगामी वर्षको बजेट असार मसान्तभित्र छलफल गरी पारित गर्न सक्नुपर्ने बजेटमाथि प्रदेश सभामा छलफल नहुँदै सोडारी नेतृत्वको सरकारले बहुमत गुमाउँदा बजेट पारित नहुने अवस्था बनेको छ। नेपाली काँग्रेसले बजेटको सुरुदेखि नै बिरोध गर्दै आएको थियो। अहिले सत्ताबाट हटेसँगै एमालेले समेत बजेट पारित नगर्ने बताएको छ। बजेटमा छलफल नहुँदै सरकार अल्पमतमा परेकाले यो बजेट पारित नहुने एमालेकाे भनाई छ।

काँग्रेस र नेकपा एमालेको गठबन्धनको नयाँ सरकार बन्ने र त्यो नयाँ सरकारले अहिलेको बजेट खारेज गरी अध्यादेश मार्फत अर्को बजेट ल्याउने निवर्तमान आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले बताए। ‘बजेटमाथि छलफल नहुँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि अब बजेट त कसरी पास हुन्छ ? नयाँ सरकार बन्छ, नयाँ सरकारले बजेट ल्याउँछ’, उनले भने, ‘अध्यादेश मार्फत ल्याउनुपर्छ बजेट, यो सरकार र बजेट गइसक्यो। अब मुख्यमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ।’

अल्पमतमा परेको ३० दिनसम्म मुख्यमन्त्रीलाई सरकारमा बस्ने संवैधानिक सुविधा रहेकाले बजेट पारित गर्न के गर्न सकिन्छ भनेर मुख्यमन्त्री सोडारीले परामर्श गरिरहेको बताएका छन्। बजेट पारित हुन नसक्ने अवस्था आएमा सोडारीले संवैधानिक प्रावधानअनुसार उपयुक्त निर्णय लिने बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.