
धनगढी । सुदूरपश्चिममा तीन दिनसम्म अत्यधिक वर्षा हुने भएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ।
सो कार्यालयका प्रमुख इञ्जियर सञ्जयकुमार साहले तराईका कैलाली र कञ्चनपुर जिल्ला सतर्क रहनुपर्ने र पहाडका सातै जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकोले अझ बढी सतर्कता अपनाउनुपर्ने बताए। महाकाली बेसिनका प्रमुख इ. साहका अनुसार शुक्रबार ११:३० पछिको तीन घण्टामा मात्रै ३६.६ मिलिमिटर पानी परेको छ।
मनसुन न्यूनचापीय रेखा केही दिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान महाशाखाले पनि गरेको छ। वर्षाले कैलालीको भजनी क्षेत्र डुबानमा परिसकेको छ। ढल निकास नहुँदा प्रदेशको अस्थायी राजधानी धनगढीका केही टोल पनि डुबानमा छन्।
यस्तै, मौसम विभागले आज पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने महाशाखाको भनाइ छ ।
आज र भोलि वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
