
धनगढी। जङ्गली विषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मकवानपुर भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतानका परिवारका सात जना बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बिरामी भएका मङ्गली स्याङतानसँगै उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका छन्।
विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि यही असारको पहिलो साता जङ्गली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको थियो।
