
भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले यसअघि सन् २००७ मा पहिलाे पटक टी-२० विश्वकप उपाधि जितेको हो ।
१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् । एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो ।
अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाए ।
दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए ।
सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
