
धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रवार)देखि मनसुन थप सक्रिय हुने जनाएको छ । मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशका केही स्थान, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
आइतबारसम्म मेघ गर्जन चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । तर सुदूरपश्चिम प्रदेश सरकार भने मुकदर्शक भएर बसेकाे छ । उसले हालसम्म मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनासमेत ल्याउन सकेको छैन ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म केवल कार्ययोजनाको मस्यौदा मात्रै बनाएको छ । तर अन्तिम रूपमा दिन विपद् व्यवस्थापन कार्यकारी समितिमा छलफलसँगै अन्तिम रूपमा दिन मन्त्री स्तरीय निर्णय समेत बाँकी रहेको मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले बताए । मन्त्रालयमा विभागिय मन्त्री नहुँदा सो विपद् प्रतिकार्य कार्ययोजना हालसम्म ल्याउनमा ढिलाइ भइरहेको मन्त्रालयका सूचना अधिकारी विष्टको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा बर्सेनि बाढी पहिरोले हजारौँ घरपरिवार प्रभावित तथा विस्थापित हुनुका साथै ठुलो धनजनको क्षति हुँदै आएको छ। विपद् प्रतिकार्यको कार्ययोजना बनाएर सरकारले काम गर्दा पनि विगतका वर्षमा यहाँका नागरिक अति प्रभावित हुँदै आएका भएपनि यसपाली प्रदेश सरकारले प्रतिकार्यको कार्ययोजना निर्माणमा ढिलासुस्ती गर्दै आएकोले अवस्था भयावह बन्न सक्ने जानकार बताउँद्छन् ।
