धनगढी । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताएका छन् । प्रेस सेन्टर कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकारले राम्रा काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको भन्दै मन्त्री शर्माले समयमै पाठ्यपुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले ब्यस्थित ढङ्गले अघि बढाएको बताए । यस्तै ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड लगायतमा अडिग भई सरकारले काम गरेको र त्यसले जोसुकै भएपनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरेको बताए।
उनले सरकार यस्ताे भ्रष्ट्राचार, विकृति र विसङ्गतिका विरुद्ध निर्मम रुपमा अघि बढिरहेको बताए। सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि सरकारी कार्यदल बनाएर १० बर्से गुरुयोजना निर्माण गरिने बताइन् । सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्वौ राजस्व भित्र्याउन सकिने उनकाे भनाई छ ।
मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र सामाजिक सञ्जाल सम्बन्धि विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूर सञ्चार ऐनको ड्राफ्ट तयार भएको बताइन् । आमसञ्चार सम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास ब्यक्त गरिन् ।