धनगढी । यहि जेठ २७ र २८ मा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सम्पन्न भएको श्रमाधान रोजगार मेलामा २६ सय बढि बेरोजगारले रोजगारी मागेका छन् । आयोजककाअनुसार विभिन्न रोजगारीका लागि दुई हजार ६ सय ६९ जनाले आवेदन पेश गरेका छन् । जबकी मेलामा दुई हजार ४ सय ६ पदका लागी मात्र आवेदन माग गरिएको थियो ।
मेला मूल आयोजक समितिले आवेदन दिने मध्ये रोजगारीका लागि ८५ जनाको नाम विभिन्न निकायलाई सिफारिस गरिएको जनाएको छ । ‘तत्काललाई ८५ जनालाई रोजगारीका लागी सिफारिस गरेका छौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव बसन्त बोहराले भने ‘अरु प्रक्रियामा हुनुहुन्छ, उहाँहरुको दक्षता कुन क्षेत्रमा छ भनेर अध्ययन भइरहेको छ । दक्षताका आधारमा रोजगारी पाउनुहुन्छ ।’
मेलामा ६७ जनाले तालिमका लागि समेत निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको रोजगार मेलामा विभिन्न ३८ वटा स्टल राखिएको थियो । दुई दिनसम्म आयोजना गरिएको मेलामा १० हजार एक सय ५० जनाले अवलोकन गरेका थिए ।
मेलामा श्रमाधान सम्बाद‚ सांस्कृति प्रस्तुती लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो । संवादमा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका, अवस्था, चुनौति र सम्भावनाको विषयमा संवाद गरिएको थियो । त्यस्तै वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पूर्व सिकाई मान्यताको भूमिका‚ अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा‚ सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर भन्ने विषयमा पनि संवाद गरिको थियो ।