धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । आज साँझसम्म एमाले, माओवादी र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
सरकारमा सहभागी हुन एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगाइसकेको छभने माओवादीले आज बिहानसम्म टुङ्गो लगाउने जनाएको छ ।स्वतन्त्र सांसद पनि उपयुक्ति जिम्मेवारी पाएमा मन्त्री बन्ने लाइनमा छन् । यसकालागि भाैतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीहरूको भागबन्डा पुराउने तयारीमा मुख्यमन्त्री सोडारी रहेको बुझिएकाे छ ।
एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने लाइनमा छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने छनभने अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन । एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । शनिबारसम्म माओवादी केन्द्रले दुई मन्त्रालय पाउने र त्यसमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो ।
तर, आईतबार बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी भएका माओवादीका एक सांसदले भने । ‘खगराज भट्टबाहेक सबैले मन्त्रीको आकाङ्क्षा राखेपछि सहमति भएन’ उनले भने, ‘साेमबार संसदीय दलको नेताले टुङ्गो लाउनु हुन्छ नभए इन्चार्जले गर्नुहुन्छ ।’