
धनगढी । सही तथ्याङ्क विनाको नीति तथा कार्यक्रमले प्रतिफल नदिने धनगढीमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ महासंघ सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा राष्ट्रिय जनगणना २०७८ अपाङगतासम्बन्धि तथ्याङ्किय प्रतिवेदन नतिजाले समेटेका विषयमा प्रदेशस्तरीय सरोकारवाला निकायसँगको अन्तरकृयामा सरोकारवालाले सो कुरामा जोड दिएका हुन ।
अपाङ्गता भएका ब्यक्तिहरु आफैमा बिशिष्टीकृत भएकाले उनीहरुको अवस्था अनुसारकोे खण्डिकृत तथ्याङ्क ल्याउनु पर्नेमा सरोकारवालाको जोड थियो । शाररीक, बहिरा, दृष्टीविहीन, बैद्धिक, अटिजम आदि सबैथरी अपाङ्गताको अलग–अलग कठीनाई भएकाले को कति र कस्तो अवस्थाको खुलाएर सही तथ्याङ्क भएपछि मात्रै राज्यले बनाउने नीति तथा कार्यक्रम फलदायी रहने नत्र, देखाउने अकाँडा मात्रै रहने सहभगी अपाङ्गता भएकाहरुको भनाई थियो ।
अपाङ्गताको क्षेत्रमा काम गर्दैरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था र जनगणनाको तथ्याङ्कमा देखिने गरेको फरकले पनि आफुहरु अलमलमा परेको राष्ट्रिय अपाङ महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले बताए । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारहरु खण्डिकृत र सही तथ्याङ्क विना नै हचुवाको भरमा अपाङ्गताको क्षेत्रमा नीति बनाउने र कार्यक्रम गरेको देखाउने गरेपनि सबै किसिमका अपाङ्गता भएकाले सो कार्यक्रमको प्रतिफल पाउन नसकेको उनको भनाई छ ।
राष्ट्रिय अपाङ महासंघ नेपाल संघीय कार्यसमितिले तथ्याङ्कविज्ञ नियुक्त गरि अपाङ्गता भएका व्यक्तिहरुको खण्डीकृत तथ्याङ्क सर्बेक्षण गर्न प्रश्नावली तयार पारेको र अव सरकारले पनि अपाङ्गता भएका व्याक्तिहरु शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा को–कति अगाडी बढेको छ, त्यसको खण्डिकृत तथ्याङ्क राख्नुपर्ने संघीय अध्यक्ष देवीदत्त आचार्यले बताए ।
त्यसैगरी तथ्याङ्क कार्यालय कञ्चनपुरका सुपरिवेक्षण बिनोद भट्टले नेपालमा विषयगत खण्डिकृत विधि लागु नभएसम्म अपाङ्गता भएका व्यक्तिको सहि तथ्याङ्क नआउने भन्दै जनगणनामा पनि यो बिधि लागु हुनुपर्ने बताए । कुनै पनि नीति बनाउँदा अप्रत्यक्षरुपमा सबैको राय सुझाव लिनुपर्ने उनको भनाई थियो ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका अधिकृत जयराज ओझाले अपाङ्गता भएका व्याक्तिहरुको आश्यकताअनुसार नीति बनाउनु जरुरी रहेको बताए । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले आफ्ना क्षेत्रमा कति जना अपाङ्गता भएका व्याक्ति रहेका छनभनि तथ्याङ्क राख्नुपर्ने भन्दै सहि तथ्याङ्क भएमात्र सोहीअनुसारको योजना तथा कार्यक्रम ल्याउन सजिलो हुने र कार्यक्रम पनि सफल हुने बताए।
कार्यक्रममा धनगढी उपमहानगर पालिका उपप्रमुख नन्दकला रानाले नगरपालिका भवन अपांगता मैत्री बनाउन प्रयासरत रहेको भन्दै आफुहरुले अपांगता क्षेत्रमा गरेका अन्य कामको सबैले प्रशंसा गर्नुपर्ने बताइन् ।
