धनगढी । सुदूरपश्चिमका तराईका भूभागमा एक साता भन्दा बढी समयदेखि लगातार तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि छ। एकसाता भन्दा बढी समयदेखि तातो हावा चल्दा यहाँकाे जनजीवन कष्टकर बन्दै गइरहेको छ।
२९ वर्ष अघिकाे रेकर्ड ताेडेर धनगढीकाे तापक्रम विहिबार ४४ डिग्री माथि गएकाे थियाे भने शुक्रबार ४२.५ डिग्री सेल्सियस मापन भएको थियो। कैलाली कञ्चनपुरका सबैजसाे तराई क्षेत्रमा न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस हाराहारीमा रहने हुँदा अझै गर्मी महशुस हुने गरेकाे छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा शुक्रबार क्षणिक वर्षा भएकाले त्यसको प्रभावस्वरूप शुक्रबार तापक्रम केही घटेको मौसमविद गोविन्द झाले बताए। तर, अझै केहीदिन तापक्रम उच्च नै रहने उनले बताए। उनका अनुसार आज र भोलि पनि तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान छ।
‘भोलिसम्मको स्टाटस हेरेर पर्सीदेखि के हुन्छ भन्न सक्छौं तर तत्काल तापक्रम घटिहाल्ने सम्भावना छैन,’ उनले भने।