सरकारकाे आगामी बजेटमा सुदूरपश्चिमका के-के याेजना समेटिए

धनगढी । संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुदूरपश्चिमका पनि विभिन्न योजना समेटिएका छन्।मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने उल्लेख छ।

सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने योजनाअनुसार सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने भएको हो। यस्तै धनगढीमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन गरिने अर्थमन्त्री पुनले बताए। विश्वविद्यालय गाभिने विषयमा अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ।

यस्तै चिसापानी-कञ्चनपुर सडकखण्ड चार लेनमा आगामी वर्षसम्ममा पूरा हुने, सेती करिडोर, डडेल्धुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने पनि सार्वजनिक बजेटमा उल्लेख भएको छ। यसका साथै बजेटमा राष्ट्रिय गौरवको आयोजना रानी–जमरा कुलिया सिँचाई र महाकाली सिँचाई आयोजना तेस्रो चरणका लागि चार अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।

कैलालीको १४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न रानीजमरा–कुलरिया सिँचाई आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ। लम्की मुल नहर अन्तर्गत शाखा नहर निर्माण गरिने छ। सो आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।

यसैगरी कञ्चनपुरमा राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाई तेस्रो चरणका लागि दुई खर्ब बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री पुनले धनगढी विमानस्थलको स्तरोन्नति गरिने पनि बताए। बैतडीको पाटन विमानस्थललाई निजी क्षेत्रको सहकर्यमा प्याराग्लाइडिङ्ग, प्यारासुट, स्काइ डाइभिङ र अल्ट्रालाइट जस्ता मनोरञ्जनात्मक साहसिक पर्यटनको लागि उपयोग गरिने उल्लेख गरिएको छ।

यसका साथै दैजी–छेला औद्योगिक क्षेत्र र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रारम्भ गरिने विषयमा बजेटमा राखिएको छ। दोधारा–चाँदनीमा नयाँ नमुना वस्ती निर्माण गरेर आर्थिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गरिने लगायतका विषय बजेटमा समावेश गरिएको छ।ब्रह्मदेव क्षेत्रको शाखाबाट एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सेवा थप विस्तार गरिने विषय बजेटमा समावेश गरिएको छ। सो आयोजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको हो। 

काठमाण्डाैकाे टियु र मुलपानी जस्तै धनगढीकाे फाप्ला किकेट मैदानलाई अन्तराष्टिय स्तरकाे बनाउन एथेष्ट बजेट राखिएकाे अर्थमन्त्री पुनले बजेट भाषणमा बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.