डडेलधुरा। अपाङ्गता भएका महिलालाई आत्मनिर्भरमुखी सिपमूलक तालिम प्रदान गरिएको छ । महिलालाई आयआर्जन तथा स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय डडेल्धुराले यस किसिमको तालिम आयोजना गरेको सो कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिए।
डडेलधुराका सातवटै पालिकाबाट २० जना अपाङ्गता भएका महिलालाई सातदिने तालिममा पाँच दिन बाख्रापालन, आयआर्जन र दुई दिन नेतृत्व विकास तालिम दिइने छ । उक्त तालिममा आधुनिक खोर बनाउने तरिका, बाख्रापालन गर्न आवश्यक ज्ञान, सिप, बाख्रामा हुने रोग, सङ्क्रमण र उपचार पद्धतिबारे जानकारी गराइने छ । बाख्रापालन तालिमपछि उचित बजार व्यवस्थापन गर्न नेतृत्व विकाससम्बन्धी पनि तालिम दिइन लागेको कार्यालय प्रमुख कुलराज सोतीकाे भनाइ छ ।
सहभागीलाई दुई बाख्रा खरिदका लागि अनुदानस्वरूप २०/२० हजार रुपियाँ उपलब्ध गरिने र उक्त अनुदानको दुरुपयोग गरेमा सो रकम बराबर असुलउपर गरिने गरेर कागजपत्र बनाइने छ । तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव चक्र पाण्डेयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र खेलकुदका क्षेत्र प्राथमिकतामा रहेपनि ज्येष्ठ नागरिक, महिला, बालबालिका, संस्कृति पक्षलाई समेट्न नसकेको बताए ।