मुख्यमन्त्री साेडारीलाई विश्वासको मत दिन एमाले तयार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन नेकपा (एमाले) तयार भएको छ। मुख्यमन्त्री सोडारीले यसअघि दुई पटक विश्वासको मत लिन खोजे पनि एमालेले मानेको थिएन। अहिले एमाले तयार भएपछि मुख्यमन्त्री सोडारीले भाेली बिहीबार विश्वासको मत लिने तयारी गरेका छन्।

यसअघि विश्वासको मत लिनका लागि वैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिएको थियो। तर एमालेको असहमतिका कारण बैठक बस्न सकेको थिएन। दुवै पटक सूचना प्रकाशित गरेर स्थगन गरिएको छ। विश्वासको मत लिनका लागि जेठ ३ गते प्रदेश सभाको बैठक बोलाइएको छ। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने बताए। “आज संसदीय दलको बैठक बसेर निर्णय गर्छ,” रावलले भने, “भोलि मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं।”

गत वैशाख ६ गते एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारी मुख्यमन्त्री बनेका थिए। संवैधानिक व्यवस्था अनुसार उनले जेठ ४ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका ११, माओवादीका सभामुख सहित ११, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्ति पार्टीका सात र स्वतन्त्र एक सांसद छन्। नाउपामा आन्तरिक विवाद छ। रेशम चौधरी पक्षका सांसद सरकारको विपक्षमा छन् भने अध्यक्ष श्रेष्ठ पक्षका दुई सांसद सरकारमै सहभागी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.