
धनगढी। मालिस गर्ने बहानामा अनैतिक क्रियाकलाप गरेको आरोपमा कैलाली प्रहरीले स्पा सञ्चालकसहित छ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ चौराहास्थित सुदूरपश्चिम स्पा सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आपत्ति जनक अवस्थाबाट एक पुरुषसहित शङ्कास्पद गतिविधिमा संलग्न चार जना महिलालाई पक्राउ गरेको छ ।
यसै गरी, स्पा सञ्चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रबहादुर बोहराले जानकारी दिए । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन ।
