धनगढी। अदालतबाट बिभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले चरेश गाँजा मुद्दामा १ वर्ष १ महिना २५ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–१ बस्ने ५५ वर्षीय गोमबहादुर बुढा (मतवाला), वन मुद्दामा १४ हजार ८ सय जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–७ बस्ने ५५ वर्षीय सोनोराम चौधरी पक्राउ परेका छन्।
यस्तै, सोही मुद्दामा १४ हजार ८ सय जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–७ बस्ने ५० वर्षीय लालसिंह राना र चोरी मुद्दामा १३ दिन कैद सजाय र १२ हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीय शंकरबहादुर परियार पक्राउ परेका छन्। यस्तै बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको फैसलाले १५ दिन कैद सजाय, ४४ लाख जरिवाना र १ लाख ७६ हजार क्षतिपुर्ति ठहर भएका टीकापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय अनुज हमाल पक्राउ परेका छन्।