बेरोजगार भारतीय युवा बिहेका लागि नेपाल आउने बढे

बैतडी। पछिल्लो समय भारतका युवा बिवाहकालागि दुलही खोज्न नेपाल आउनेको संख्या बढ्दै गएको छ । भरतको पिथौरागढ जिल्लाका बेरोजगार युवालाई आफ्नै देशमा दुलही पाउन कठिन भएपछि दुलही खोज्न नेपाल आउन थालेका हुन् ।

पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भने, “बैतडीबाट छोराको विवाह गर्नुपर्‍यो ।” यस्तै,पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाए ।

पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले पनि जनाएका छन् । नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

पिथौरागढका सञ्चारकर्मी सुरेन्द्र आर्यले भारतीय बेरोजगार युवाले आफ्नो देशमा दुलही पाउन कठिनाइ भएको विषय भारतीय अखबारमा समाचार बन्न थालेको बताए । उनले नेपाल-भारतवीच रोटीबेटीको पुरानो सम्बन्ध भए पनि केही वर्षयता यस्तो सम्बन्ध घटेकोमा कोरोनापछि पुनः नेपाल-भारतबिचका सीमान्तकृत गाउँमा विवाह बढेको बताए।

कोरोना सङ्क्रमणले अर्थतन्त्रमा परेको प्रभावका कारण भारतमा अहिले दाइजो प्रथासमेत घटेको छ । छोरी दिए पुग्छ भन्ने अवस्था आए पनि दुलहाका लागि बेरोजगारी तगारो बन्ने गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.