
काठमाडौं । उच्च अदालतले आइतबार सुनवाई गर्ने मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने सम्भावना रहेको क्यान स्रोत बताउँछ । उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ ।
यसअघिका तीनवटा सुनवाइ यत्तिकै स्थगित भएका थिए । यदि आइतबार सुनवाइ सुरु भयो भने एक-दुई दिनमा नै फैसला आउन सक्छ र उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दियो भने उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने ती पदाधिकारीले बताए ।
टी-२० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।
आइसीसीमा दर्ता भएका २५ जनाको सूचीमा सन्दीप पनि छन् भन्ने स्रोतको अपुष्ट दाबी छ । यो सूचीबाट क्यानले आफ्नै खर्चमा रिजर्भ खेलाडीहरू लैजान पाउँछ । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ आइतबार सन्दीपको सुनवाइ सुरु हुनु र उनले सफाइ पाउनु हो ।
