
धनगढी । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज (बुधबार) नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको गुनासो भइरहेका छन् ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै सुरु गरिएको मजदुर आन्दोलनको सम्झनास्वरूप विश्वभर यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष मे महिनाको पहिलो दिन मनाउने भएकाले यसलाई ‘मे दिवस’ भनिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय ग¥यो र त्यसयता १८९० बाट विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकको आन्दोलन सुरु भएको भएपनि २०४६ सालको राजनीतिक परिवर्तनपछि ‘मे दिवस’ विशेष पर्वका रूपमा मनाउन थालियो ।
पछिल्लो श्रम सर्वेक्षण अनुसार समान कामका लागि पुरुषको तुलनामा महिलाको ज्याला ३० प्रतिशत कम छ । अधिकांश श्रम क्षेत्रमा सङ्ख्यात्मक रूपमा महिलाको सहभागिता धेरै छन् तर ज्याला भने न्यून छ । श्रम आन्दोलनबाट कानुनी रूपमा प्राप्त भएका उपलब्धिलाई कार्यान्वयन गर्ने कार्यमा सरकार र रोजगारदाता चुकेका छन् ।
सरकारले सामाजिक सुरक्षा योजनालाई अनौपचारिक र स्वरोजगार र सरकारी करार सेवामा कार्यरत श्रमिकलाई कोषको योजनामा आबद्ध गराउन सकेमा मात्रै यस वर्षको राष्ट्रिय नारा ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने नारा सार्थक हुने नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ बताउद्छ्न।
