बैतडी। बैतडीको पाटन नगरपालिकाका १५० जना बालबालिकाले प्रधानमन्त्रीलाई चिठी लेखेका छन् । गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि ‘मैले चाहेको शिक्षा’ विषयमा लेखेको चिठी शुक्रवार जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।
पाटन नगरपालिका–८, स्थित जनता मावि आरुबाटामा कक्षा नौमा अध्ययनरत अञ्जली भट्टले ‘मैले चाहेको शिक्षा’ शीर्षकमा प्रधानमन्त्रीलाई चिठी लेख्दै विद्यालयमा शिक्षक नभएको गुनासो पाेखेकी छन् । यसरी बालबालिकाले प्रधानमन्त्रीलाई लेखेको चिठीमा निःशुल्क र गुणस्तरीय शिक्षा, दक्ष शिक्षक व्यवस्थापन, विज्ञान तथा प्रविधियुक्त शिक्षा, मनोरञ्जनका माध्यमबाट सिकाइको वातावरण लगायत शिक्षामा लगानी गर्नु पर्ने सात वटा मुख्य विषय छन् ।
शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह अन्तर्गत ‘मैले चाहेको शिक्षा’ शीर्षकमा १५० जना बालबालिकाले प्रधानमन्त्रीलाई चिठी लेखेकोे अभियानमा सरिक साझेदार संस्था भीमेश्वर सामुदायिक विकास सङ्घ (बिसिडिओ) का अध्यक्ष मानबहादुर ऐरले बताए । सोमबारबाट सुरु भएको शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२४ को अवसरमा सार्वजनिक शिक्षाका विभिन्न मुद्दामा नागरिक समाजको भेला तथा प्रदर्शन गरेको उनले जानकारी दिए।
कार्यक्रमले तीन वटै तहका सरकारसँग निःशुल्क, गुणस्तरीय तथा सर्वसुलभ, व्यावहारिक, सहभागितामूलक र प्रविधिमैत्री शिक्षाको व्यवस्था हुनुपर्ने माग गरिएको छ । -गोरखापत्र