
धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले-माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा-परिचर्चालाई खारेज गरेका हुन्।
उनले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’ प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका छन् ।
अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना उनले देखाए । ‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन् । यसलाई सत्ता समीकरणको रूपमा लिएका छौं । राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ ।
अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं’, प्रधानमन्त्रीले भने, आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गरिन्छ। वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको उनले बताए।
