
धनगढी । सत्ता गठबन्धनमै कम्पन आएपछि सुदूरपश्चिमको मुख्यमन्त्री र सरकार गठन बारे नेताहरु छलफलमा जुटेका छन। नेताहरुबीच नयाँ समझदारी भएपछि सुदूरपश्चिममा एकीकृत समाजवादी चालेको कदमबाट पछाडि फर्किने र नयाँ कोर्ष सुरु गर्ने विषयमा छलफल सुरु भएको स्रोतले बताएको छ।
आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच बालुवाटारमा भेट भएको थियो । भेटमा नाउपा का अध्यक्ष रन्जित श्रेष्ठ पनि रहेको र प्रधानमन्त्रीले सुदूरपश्चिममा मिलाउने आश्वासन दिएका बताइएको छ। परिस्थिति बदलिएको जानकारीपछि अहिले धनगढीमा एकीकृत समाजवादी, एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका सांसदहरु छलफलमा जुटेका छन् । उनीहरुबीच प्रदेश प्रमुख समक्ष आइतबार एकीकृत समाजवादीले गरेको समर्थन फिर्ता लिने प्रकृया, प्रदेश प्रमुखबाट निर्वाह गराउनुपर्ने कदम र भागबण्डाका बारेमा पनि बारेमा विमर्श भइरहेको स्रोतले बताएको छ ।
स्रोतकाअनुसार यसअघि आइतबारको दाबी पेस गर्ने समयमा नागरिक उन्मुक्तिकै दुई जना सांसदको दाबी पेस भएकाले प्रदेश प्रमुखले दुबै दाबीलाई रद्द गरेर नयाँ प्रक्रिया सुरु गराउन पहल गर्न सकिने लगायतका उपयुक्त विकल्पमा छलफल भइरहेको छ । त्यसका लागि नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहमत भएको बताइएको छ।
लक्ष्मण किशोर चौधरीका समर्थकमा कांग्रेस संसदीय दल, एकीकृत समाजवादी संसदीय दल र राप्रपाले समर्थन गरेका छन् । नागरिक उन्मुक्तिका सातमध्ये पाँच जना सांसद उनको पक्षमा छन् । त्यसरी उनलाई समर्थन गर्ने दल तथा सांसदहरुको संख्या २८ जना पुगेको देखिएको छ ।
अर्कोतिर रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । आफ्नै दल नागरिक उन्मुक्तिबाट उनीसहित दुई जना मात्र छन् । यसरी उनको पक्षमा २३ जनाको समर्थन देखिएको छ । तर, एउटै पार्टीबाट दुई जनाको दावी पेश भएको भन्दै प्रदेश प्रमुख निजर मियाँले कानुनी परामर्शका लागि समय चाहिने भन्दै आज मंगलबार निर्णय दिने दलहरुलाई बताएका थिए।
प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार यसअघिको दावीकर्ताहरुको प्रकृयालाई जुनसूकै निर्णय गरेपनि मंगलबारभन्दा पर नधकेल्ने निचोडमा पुगेका छन्।
