काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित भएका छन। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका हुन्।
उपाध्यक्ष घिमिरेको पक्षमा ३९ मत र विपक्षमा १६ मत खसेको थियो । उनको पक्षमा बहुमत मत परेको भन्दै अध्यक्ष दाहालले निर्वाचित भएको घोषणा गरेका हुन्। सभा बैठकमा ५५ सांसदको उपस्थिति रहेको अध्यक्ष दाहालले जानकारी गराए । राष्ट्रिय सभामा कुल ५९ जना सांसद छन्।
घिमिरेसँग नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिएको थियो । उनको पक्षमा १६ मत र विपक्षमा ३९ मत परेको थियो। यसअघि माओवादी केन्द्रका सांसद उर्मिला अर्याल उपाध्यक्ष थिइन । उनले राजनीतिक सहमतिअनुसार पदबाट राजिनामा दिएपछि सो पदमा आज पुनः निर्वाचन भएको हो।