गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मिलिजुली सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुखले दाबी पेश गर्न सात दिनको समय दिएका छन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ती गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न माननीय प्रदेश प्रमुख श्री डिल्लीराज भट्टज्यूले आह्वान गर्नु भएको छ।”
यस उपधारामा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।